नरेन्द्रराज प्रसाई
मेरा प्रिय पाठकहरु !
मैले २०६५ फागुन ३ गतेदेखि अन्नपूर्णपोष्ट दैनिकमा लेख्तै आएको थिएँ । पत्रिकाका सम्पादक मेरा प्रिय मित्र जिवेन्द्र सिम्खडा र मेरो प्यारो भाइ राजकुमार रेग्मीका कारण २०६९ चैत मसान्तसम्म हरेक शनिबार मैले त्यसैमा लेख्तै आएँ । "बाँचेका मान्छे" स्तम्भ अन्तर्गत यस जगतमा जन्मेर कीर्ति राख्ने व्यक्तिहरुलाई प्रस्तुत गर्न पाएकोमा मलाई हर्ष लागेको छ । यसै परिप्रेक्ष्यमा गत वर्ष अन्नपूर्ण परिसरमा मेरो स्वाभिमानमा आँच आँउने किसिमको छनक मैले अनुभूत गर्न थालें । त्यसैले मैले सिम्खडाजीलाई "अब म विदा पाउँ" भनेर अनुरोध गरेको थिएँ । तर उहाँले मलाई विदा दिन चाहानु भएन । जसले गर्दा मेरो जेजस्तो व्यस्तता भए पनि साथीभाइको मायामा म हार्न पनि सकिन । अनि फेरि म लेख्तै जान थालें ।
एकातिर त्रिमूर्ति निकेतनमा मेरो मन, वचन र कर्म जोडिएको छ भने अर्कातिर नइ प्रकाशनलाई मैले मेरो जीवनको एउटा महत्त्वपूर्ण स्तम्भ मानेको छु । यी दुई संस्थामा नै म समाहित भएको छु र बिहान उठेदेखि राति अबेरसम्म पनि म यसैमा समर्पित भैरहेको छु । त्यसमाथि गत वर्ष विश्न नारी नेपाली साहित्य सम्मेलनको अति ठुलो जिम्मेबारी पनि मेरा काँधमा आएको छ । त्यसैले यी कामहरु सुचारु रुपमा सञ्चालन गर्न र सफल पार्ने दायित्व समेत मैले लिएको कारण मेरो इच्छा हुँदाहुँदै पनि मलाई नियमित स्तम्भकारका रुपमा लेख्न धेरै असजिलो भइरहेकै थियो ।
"अन्नपूर्णपोष्ट दैनिकमा मैले लेख्न थालेको पाँच वर्ष लाग्न आँटिसके छ । मलाई केही महिना फुर्सद दिनु पर्यो । पछि फेरि मलाई अन्नपूर्णपोष्टमा नै लेख्न दिनुहोला ।" २०६९ सालको मसान्तको विहानीमा मेरो लेख काखमा राखेर मैले अन्नपूर्णपोष्ट दैनिकका नव सम्पादक मेरा प्रिय मित्र गुणराज लुइँटेललाई आग्रह गरेको थिएँ । "किन र यस्तो ? तपाईलाई कसैले केही त भनेन ? लेखिराख्नु भए हुन्थ्यो ।'' त्यतिबेला लुईँटेलजीको प्रतिउत्तर आएको थियो । उहाँको मप्रतिको सकरात्मक, नरम र आत्मीय सम्बन्ध निक्कै पुरानो पनि हो । त्यसैले उहाँले मलाई बुझ्नु पनि भएको छ ।
लुइँटेलजीलाई मैले मेरो निर्णय सुनाई सकेपछि मेरो शरीरै हलुङ्गो भएको मलाई महसुस भयो । खास गरेर निकै पुराना व्यक्तिहरुबारे लेख्नु मेरो रुचि भएकाले र सो बारेको सामग्री सङ्कलन गर्न पनि मलाई निकै हम्मे पर्थ्यो । सामग्री सङ्कलनपछि मलाई एक जनाको जीवनी लेख्न झन्नै दुई तीन दिन मामुली पनि लाग्थ्यो । प्रायशः अप्राप्य सामग्रीका कारण लेख्ने क्रममा कहिले तिथि मिल्दैन, कहिले मिति मिल्दैन र कहिले केके मिल्दैन, मिल्दैन । हुनत गीत, निबन्ध, प्रबन्ध र समीक्षा पनि मैले लेख्ने विधा हुन् ।
साहित्यिक फाँटमा डुब्दै जाँदा नेपाली समाजका लागि अत्यन्त उपयोगी हुने जीवनीविधा नेपाली साहित्यमा भने अलि पछि नै परेको अनुभूति मलाई भयो । अरुले नगरेका र समाजका लागि आवश्यकीय चुनौतिपूर्णका काम गर्नु पनि मेरो रुचिको विषय मानिन्छ । त्यसै कारणले पनि जीवनीविधामा लेख्न त्यति सजिलो नहुँदा नहुँदै पनि मैले आफ्नो साहित्यिक यात्रामा जीवनीविधालाई प्रमुखताका साथ भित्र्याएको हुँ । समय सन्दर्भमा सत्यतथ्य खोजेर जनसमक्ष प्रस्तुत गर्ने यस कामलाई पनि मैले एउटा जिम्मेवारीका रुपमा स्वीकार्दै आएको छु ।
२०५० सालतिर "नेपालीपत्र साप्ताहिक"मा मैले स्तम्भ लेख्न सुरु गरेको थिएँ । जनार्दन आचार्यको सम्पादनमा प्रकाशित उक्त पत्रिका त्यतिबेला निक्कै चर्चित थियो । त्यहाँ मैले झन्नै साडे दुई बर्षसम्म साप्ताहिक रुपमा लेखिरहें । कमल जोशी र आचार्य दाइका वीच फुट भएपछि आचार्य दाइ र म समेत जोडिएर "समकालीन साप्ताहिक" प्रकाशन गर्न थाल्यौ । मैले सो पत्रिकामा पनि स्थापनाकालदेखि करिब साडे दुई बर्षसम्म निशुल्क र नियमितरुपमा स्तम्भ लेखिरहें ।
अनि रङ्गिन शैलीमा 'कान्तिपुर' दैनिकको नेपालमा स्थापना भयो । दैनिक ठूलो पत्रिका भनेको 'गोरखापत्र'मात्र हुनसक्छ भन्ने मान्यतालाई भत्काउन सफल कान्तिपुरको प्रकाशन नेपाली पत्रकारिताको इतिहासमा निकै ठूलो क्रान्ति हो । नियमित र स्तरीय प्रकाशनका कारण अहिलेसम्म पनि पाठकमाझ कान्तिपुरक्रेज सुचारु पाइन्छ । स्थापनाको केही वर्षपछि मैले हरेक सात दिनमा नियमित रुपमा छ महिनासम्म त्यहाँ पनि साहित्यका प्रमुख समालोचकको जीवनी लेखिरहें । त्यहाँ फणिन्द्र नाउँधारी नेपालले भिलेन खेलेपछि मैले लेख्न छाड्नु परेको थियो । तर त्यहाँका लेख पनि भेला पारेर मैले 'नेपाली साहित्यका प्रमुख समालोचक'नामक ग्रन्थै निकालें । जुन किताव त्रिभुवन विश्वविध्यालयको नेपाली विषयक बीए र एम्एमा पनि पढ्नु पर्छ ।
त्यसपछि म स्पेशटाइम दैनिकमा साप्ताहिक स्तम्भकार भएँ । त्यहाँ मैले लैनसिहं वाङ्देललाई सकेसम्म पूर्णता दिएँ । "तपाईले यो ठुलो काम गर्न थाल्नु भएको छ" वाड्ङ्देल सारै खुसी भएको बेहोरा हरेक हप्ता पत्रिका हात पर्ने बितिक्कै उनी मलाई फोन गरेर अभिव्यक्त गर्थे । पछि ४०० पृष्ठको "वाङ्देलको जीवनयात्रा" प्रकाशनमा पनि आयो र त्यस ग्रन्थको भूमिका पनि वाङ्देलले नै लेखिदिएका थिए । तर दुक्खको कुरा त्यसपत्रिकामा मैले लेख्न थालेपछि पत्रिका नै बन्द भयो । जे होस् त्यहाँ पनि मैले एक वर्ष स्तम्भ लेखें ।
अनि मलाई मेरो अर्को प्रिय भाइ कुमार यात्रुले राजधानी दैनिक पु्र्याएका थिए । त्यहाँ करिब तीन महिना जति दैनिक रुपमा लेखेर "कोइलीदेवीको जिन्दगानी" नाउँको मेरो एउटा किताबै तयार भयो र त्यस ग्रन्थमा पनि दिदीले नै भूमिका लेखिदिएकी थिइन् । मैले कोइली दिदीको सेरोफेरो लेख्ता दिदी पनि सारै रमाएकी थिइन् ।
फेरि म अन्नपूर्णपोष्ट दैनिकको स्तम्भकारमा दरिएको थिएँ । साथै मैले कान्तिपुर एफएमलाई पनि हरेक हप्ता नौ महिना जति "देवकोटाको जीवनशैली" नियमित प्रदान गरेको थिएँ । हेम सुवेदीले मेरो त्यो लेखनलाई उनको प्रभावशाली वाकशैलीद्वारा जीवन्त नै पारिदिएका थिए । अनि फाट्टफुट्ट त धेरै पत्रिका र साहित्यिक पत्रपत्रिकामा मेरा लेख रचना आइरहने पनि गरिरहेका छन् । अहिलेसम्म मेरा १२०० भन्दा बढी फुटकर लेखरचनाहरु प्रकाशित भैसकेका छन् भने ४०० भन्दा बढी व्यक्तिका जीवनीहरु प्रकाशित भैसकेका छन् ।
मेरा प्रिय पाठकवृन्द ! मैले लेखेका कति कुराहरुसँग तपाईहरु सहमत हुनुहुन्थ्यो र कति लेखहरुमा असहमत हुनुहुन्थ्यो ! तर मैले मनपरि गरेर मनमौजीले केही लेखिन । मैले आफ्नो लेखन धर्म साक्षी राखेर जे लेख्नु पर्थ्यो त्यही मात्र लेखेको थिएँ ।
साहित्यिक संगठनमा सक्रिय भएर पनि मैले मेरा पाठकहरुका लागि मेरो बुताले भ्याएसम्मको मिहिनेतका साथ आफ्ना लेखरचनाहरु प्रस्तुत गर्दै आएको थिएँ । पाठकहरुको माया पाएर नै मैले एकनास लेखिरहन पनि सकेको हुँ । किनभने पाठक भनेका लेखकका लागि ईश्वर नै हुन् । म एउटा लेखक भएको कारण मलाई सँधै पाठक चाहिन्छ, पाठकको माया चाहिन्छ र पाठको सुझाव पनि चाहिन्छ । त्यसैले आगामी दिनमा अन्नपूर्णपोष्टमा मेरो अनुपस्थितिको जानकारी यहाँहरु समक्ष निवेदन गर्नु मेरो नैतिकधर्म पनि हो । भविष्य मेरो अनुकूल भएमा म फेरि तपाईंहरु समक्ष उपस्थित हुने वाचाका साथ अहिलेलाई अन्नपूर्णपोष्टको स्तम्भकारको भूमिकाबाट ओझल परेको छु ।
nai.com.np@gmail.com
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps