--- -- Keshar Mang-Yung Subba ---
मुकारुङहरू साहित्य-सङ्गीतमा चर्चित थरी हुन् । बुलु मुकारुङ, राजन मुकारुङ, श्रवण मुकारुङ, पारस मुकारुङ, बसन्त मुकारुङ, भिषण मुकारुङ, शुभ मुकारुङ, आभा मुकारुङ आदि सबै-सबै चर्चित छन् । उनीहरूको परिचय उनीहरूले नै कर्म-कला-बिचारले आफैँ लेखिसकेका छन् ।
हामीले लेखिरहन त जरुरी छैन तरै पनि भलाकुसारीलाई साभार गर्दै चर्चित गायिका आभा मुकारङको बारेमा थोरै शब्द खर्च गर्नु बेश नै होला । अर्को तर्फ भोजपुर पहाडी र सडक यातायातको हिसाबले निकै दुर्गम जिल्ला भए पनि नेपाली साहित्य, सङ्गीत, कला र राजनितिमा अगुवा जिल्ला हो ।
भोजपुरको चर्चित ठाउँ दिल्पा, अन्नपूर्णमा वार्ड नं-८ मा जन्मिएकी आभा मुकारुङ पनि नेपाली सङ्गीत गजतमा आभा नै बनिन् । २०५३ सालमा ‘यो साल फेरि बारीभरी अजम्मरी फुलेको छ’ भन्ने शुभ मुकारुङको शब्द र शान्तीराम राईको सङ्गीतमा स्वर दिई गीत रेकर्ड गरेपछि रेडियोमा औपचारिक रुपमा आभा मुकारुङले आफूलाई गायिकाको रुपमा दर्ता गरेकी हुन् । नरदेवी राई र तिर्थराज राईको कोखमा जन्मिएकी आभाले विध्यालयकै प्राङगणबाट आफ्नो साङ्गीतिक मोहलाई देखाउन थालेकी हुन् । लगभग २५५ भन्दा ज्यादा गीतहरू आफ्ना स्वरमा रेकर्ड गरेकी आभा मुकारुङ अहिले काठमाडौको बुढानिलकण्ठको स्थायी वासिन्दा हुन् ।
२०५३ सालमा बिराट नगरमा रेडियो नेपालद्वारा आयोजित खुल्ला आधुनिक गीत गायन प्रतियोगितामा सामेल भई सान्त्वना स्थान प्राप्त गरेपछि रेडियोले उनलाई मान्यताप्राप्त गायिका स्वीकारेको हो । काठमाडौ प्रवेश, अध्ययन र गायनसँग हिँड्डा-हिँड्दै रामचन्द्र काफ्ले , अर्जुन कौशल , सुनिल बुढा, बेगम गन्दर्व आदि र आफु सहितको चौतारी समुह सँगको सहकार्यमा निस्केका उनका गीतहरू पनि एकसेएक हिट भएका थिए । शालीन शैलीका आभाका स्वरमा मुलायम र मोहकता भएको स्रोताहरूले स्वीकार्दछन् ।
घरकै बाबा-आमा सङ्गीतप्रेमी तथा आफन्त अग्रजजनहरू सङ्गीतमा रहेको कारण पनि सङ्गीतमा नजानिँदो तवरले होमिएको र आफूलाई यसमा बहुत टेवा पुगेको उनी बताउँछिन् । सङ्गीत मै लागेर जीवन कटाउने खास उदेश्य नहुँदा-नहुँदै पनि अन्तत: सङ्गीत नै जीवनको सारथी जस्तो बन्न पुगेको संयोगले उनलाई खुशी तुल्याएको छ । रेकर्डेड आवाज मात्र हैन, उनले नेपालका अनेक जिल्ला-गाउँका मञ्च र देश-विदेशका मञ्चमा चढेर समेत बारम्बार स्रोतालाई मीठा-मीठा गीत सुनाउने गर्दछिन् । कतार, कोरिया, हङकङ, दुबई, देहरादुन, सिक्किम र युकेसम्म पुगेर पनि उनले स्रोताहरूलाई लठ्याईरहेकी छिन् । ‘जीवन सुख-दु:खको समायोजन हो । सङ्गीतको यात्रामा पनि सुख-दु:ख आएका थिए । जसलाई मैले प्रेरणाको स्रोतको रुपमा अनुवाद गरेर बढिरहेकी छु ।‘- उनको जीवन दर्शन यस्तो छ ।
आफ्ना उर्जाशील समय र बैँस नै सङ्गीतमा लगानी गरिसकेकी आभाले पुरस्कार, आर्थिक लाभ र सम्मानभन्दा पनि स्रोताको माया नै ठूलो उपलब्धी मान्दछिन् । देश-विदेशमा बसेर नेपाली सङ्गीत सुन्न रुचाउने सङ्गीतप्रेमीहरूको साङगीतिक आयोजनाका कारण पनि सम्मान तथा आर्थिक लाभ दुबै मिलेको स्वीकार्दछिन् । सरकारी तवरका केहि सँस्थानहरूमा जागिरेको रुपमा केहि गायक-कलाकार रहे पनि यसले सबैलाई समेट्न नसकेको उनको भनाई छ ।
महत्वकांक्षाबिना सामान्य र साधारण जीवन तर सङ्गीतको मोहमा रमाउन चाहने आभा मुकारुङले आफूले बाँचेको समयमा कला-सङ्गीतको माध्यमबाट नै समाजलाई केहि दिन सके आफ्नो जीवन सन्तुष्ट हुने बताउँछिन् । ‘कुनै पनि देशको अवस्था बुझ्न त्यो देशको राजनैतिक अवस्था बुझे पुग्छ रे !’ भनेर शालीन तवरले यथार्थ तर सटिक ब्यङ्ग्य गर्दै अस्थिर, खिचातानी र अस्वस्थ प्रतिस्पर्धाको राजनितिका कारण कलाकारहरूमा पनि नराम्रो असर पुगेको बताउँछिन् ।
‘आफ्नो गीतहरू मध्यम खालका लाग्छन्, कारण अझै राम्रो गाउनु मेरो उदेश्य हो ।‘ भन्छिन् । उनको ‘आभा’ एल्बमको ‘कता हिँडेको ? कसलाई खोजेको ?’ गीतले उनलाई पहिलो चरणमा धेरै चिनाएको जानकारी दिन्छिन् । यसकालागि यो गीतका गीतकार रामकृष्ण बान्तवा र सङ्गीतकार राजु सिंहलाई पनि उनले सम्झिन चाहन्छिन् ।
करिब दुई बर्ष अगाडी ‘सौम्य’ एल्बम निकाली थप चर्चा र माया कमाएकी आभा अहिले अर्को एल्बम तयारीमा छिन् । ‘राष्ट्र, समाज, कला र सँस्कृतिको बिकासको निमित्त कलाकार, लेखक, मिडिया, स्रोता सबैको अहम भूमिका हुनुपर्छ ।‘ भन्ने उनको राय छ । सभ्य, कलात्मक र सटिक तरिकाले आफ्ना बिचार राख्ने गायिका शिक्षित गायिका हुन् । उनी सम्झिन्छिन्, ‘ठूला-बडाले के बन्छौ ?’ भनेर सोध्दा सायद ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि आज गायिका बन्नु उनले आफ्नो भाग्य सम्झिन्छिन् । अडियोले मात्र सङ्गीतका स्रोतालाई अहिले धान्न-तान्न नसक्ने अवस्थामा उनका धेरै भिडियोका गीतहरू युट्युबमा खोजेर सुन्न सकिन्छ । सुन्दरी भए पनि आफूलाई खासै स्क्रिन शो गर्न नरुचाउने गायिकाका म्युजिक भिडियोहरूमा उनलाई तेति देख्न सकिन्न । कम तर मीठो बोल्ने बानी भएकी गायिका कम तर राम्रो गीत गाउने चाहना राख्छिन् । उनलाई हामी सकदर सलाम भन्न चाहन्छौँ ।
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps