सतहमा देखिएको सत्यअनुसार सांसद वेगको हत्या दाउद इब्राहिम र छोटा राजनले नेतृत्व गरेका दुईटा खतरनाक अन्तर्राष्ट्रिय अपराधी गिरोहहरूबीचको भिडन्तको परिणाम हो । दाउद गिरोहका मान्छेहरूको सफाया गर्ने सार्वजनिक घोषणा गरेका छोटा राजनले मिर्जालाई आफूले मार्न लगाएको कुरा सगर्व बताइसकेका छन् । सो हत्यामा हाल राजनसँगै मिलेर काम गरिरहेका अरूण गवली र बब्लु श्रीवास्तवको पनि सहयोग रहेको अनुमान छ । तर हत्याको अन्तिम सूत्रधार छोटा राजन नभएर बाह्य गुप्तचर एजेन्सीहरू रहेको हुन सक्ने आधारहरू फेला परेको दाबी सुरक्षा अधिकारीहरूले गरेका छन् । उनीहरूका अनुसार छोटा राजनलाई उपयोग गरेर मिर्जाको हत्या गराइएको हो ।
अनि उनी मारिए
राप्रपाका सांसद वेग गृहजिल्ला कपिलवस्तुमा नौ दिन बसेर संसद् अधिवेशन सुरु भएकै दिन असार १४ गते काठमाडौं आए । र, भोलिपल्ट दिउँसो मध्यमाञ्चल क्ष्ाेत्रका पार्टी कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रममा सरिक भए । त्यसपछि बेलुकी आफ्नी कान्छी श्रीमतीकहाँ जानमात्र के लागेका थिए, बाटैमा उनको हत्या भयो ।
सांसद वेग चढेको सेतो रङको टोयोटा कोरोला कार -वा.अ.ञ ७६५९) उनका विश्वासी ड्राइभर भुवन कार्कीले हाँकिरहेका थिए । सिफल, पानीट्यांकीबाट पश्चिमतर्फ ओरालो लागेपछि आउने सार्वजनिक चौरमा कार पार्क गर्दागर्दै त्यहाँ गोलीको वषर्ा भयो । ड्राइभर कार्की कारभित्रै स्टेयरिङ समातेकै अवस्थामा सोत्तर भए भने सांसद वेग त्यहाँबाट करिब ४० फिट पश्चिमतिर बाटोमा ढले । उनलाई सम्भवतः भाग्दा-भाग्दै गोली लागेको थियो । धोबीखोलाको पूर्वपट्ट िरहेको उनको निवास पुग्न कार पार्क गर्ने ठाउँबाट एक मिनेटजति हिंड्नुपर्छ ।
पोस्टमार्टम रिपोर्टका अनुसार सांसद वेगको शरीरमा आठवटा गोली लागेको थियो, टाउकोमा तीनवटा र अरू जीउमा । एकदमै नजिकबाट हानेका कारण सबै गोलीहरू शरीर छेडेर निस्किएका थिए । घटनास्थलबाट ९ एमएम र ७.६३ एमएम अंकित भारत र इटालीमा निर्मित गोलीका खोकाहरू बरामद भएका थिए ।
स्थानीय बासिन्दाका अनुसार लोडसेडिङको समय सकिनु र बत्ती बल्नुबीचको संघारमा राति साढे नौ बजे गोली चलेको थियो । घटना भएको लगत्तै छेउछाउका मान्छेहरू त्यहाँ पुग्दा गाडीको चालकपट्टकिो ढोका खुलै थियो, हेडलाइट बलिरहेको थियो, इञ्जिन र वाइपर चलिरहेको थियो । तर मिर्जा र ड्राइभरको भने प्राणपखेरु उडिसकेको थियो ।
मिर्जा काठमाडौंमा दुई ठाउँमा बस्ने गर्थे । उनको स्थायी निवास चावहिल, लामपोखरीमा थियो, जहाँ उनकी जेठी श्रीमती भिखनी बस्थिन् । सिफलस्थित कान्छी श्रीमती सुनीता रायकहाँ चाहिँ उनी बेलाबखत मात्र जान्थे । २१ वषर्ीया सुनीता सर्लाहीका सांसद खोभारी रायकी बहिनी -सौतेनी आमाकी छोरी) हुन् र गत साल भदौमा मात्र उनी र मिर्जाबीच प्रेम-विवाह भएको थियो । सुनीता हिन्दु भएकाले बिहेअघि उनको 'निकाहा' गरी मुस्लिम नाम समा बानो राखिएको थियो । मिर्जाले उनलाई राप्रपाका पार्षद् प्रेम चौलागाईंको सिफलस्थित घरको पहिलो तला भाडामा लिएर राखेका थिए । अरूबेला सुरक्षा बन्दोबस्तका साथ हिंड्ने सांसद वेग त्यहाँचाहिँ प्रायःजसो एक्लै जाने गर्थे, त्यही बेवास्ताको फाइदा हत्याराहरूले उठाए ।
केही समययता मिर्जाले आफूलाई असुरक्षित महसुस गर्न थालेका थिए । उनले चावहिल, लामपोखरीस्थित घरमा आगन्तुकहरूलाई जाँच्न मेटल डिटेक्टर पनि राखेका थिए भने गत साल अमेरिकाबाट र्फकंदा अत्याधुनिक राइफल पनि किनेर ल्याएका थिए ।
राप्रपाका नेता तथा सांसद बुद्धिमान तामाङले सांसद वेगलाई अघिल्ला सरकारले दिएको सुरक्षा समेत वर्तमान सरकारले झिकेको आरोप सदनमै लगाए । सरकारले आफूलाई दिएको एउटा रिभल्बर र असई फिर्ता गरेको हुँदा सुरक्षा व्यवस्था मिलाइदिन पूर्वगृहमन्त्रीको नाताले आफ्नो हत्या हुनुभन्दा केही घन्टाअघि वेगले आफूसँग आग्रह गरेको कुरा तामाङले बताए । यसैबीच प्रहरी प्रधान कार्यालयले स्व. वेगले आफू असुरक्षित भई सुरक्षा माग गरेको सूचना एवं आभाषसमेत प्रहरीलाई नदिएको कुरा एक विज्ञप्तिमार्फत् जनाएको छ ।
हत्याराहरू
मिर्जा दिलसाद वेगलाई गोली प्रहार गर्ने करन सिंह विगत चार वर्षदेखि काठमाडौंमा बसिरहेका थिए । छोटा राजन गिरोहका नामुद 'हिटमेन' -गोली प्रहार गर्ने व्यक्ति) करन काठमाडौंमा बसे पनि आफ्नो 'बोस' को आदेशानुसार हत्या गर्न देश-विदेश चारिरहन्थे । वेगको हत्या गरेको तीन दिनपछि मात्र उनी यहाँबाट भागेका थिए । सानेपामा उनी बसेको घरबाट प्रहरीले वा.अ.च ९५५७ नम्बरको हरियो रङको टोयोटा कार पनि बरामद गरेको छ ।
मिर्जाको हत्यामा सोही कार प्रयोग गरिएको थियो । करन सिंहले सो कार महेन्द्र हाडा नामक व्यक्तिबाट किनेका थिए । तर त्यो राजपरिषदको सदस्य श्रीमती कलावती सिंहको नाममा दर्ता
छ । श्रीमती सिंहका अनुसार भन्सार सुविधामा झिकाइएको सो कार १० वर्षअघि नै दार्चुलाका चन्द्रसिंह खडायतमार्फत् एक अज्ञात व्यक्तिलाई बेचिएको थियो । तर त्यसको नामसारी हालसम्म गरिएको छैन ।
मिर्जाका हत्याराहरू भारतबाट चढेर आएको डीएल ९ सीए १३४३ नम्बरको महेन्द्रा जिप महेन्द्रनगरमा भेटिएको छ । सो कारका ड्राइभर रहेका भूतपूर्व प्रहरी हबल्दार सुरेन्द्रसिंह भण्डारी पनि त्यससँगै पक्राउ परेका छन् । मिर्जा हत्याकाण्डमा संलग्न व्यक्तिमध्ये मिर्जाकै पूर्वकारिन्दा सफिक मोहम्मद खाँलाई प्रहरीले मुम्बईबाट समातेर ल्याएको छ भने हत्यामा सहयोगी भूमिका निर्वाह गर्ने सतीश गौतम पनि गिरफ्तार भएका छन् । जिल्ला प्रहरी कार्यालय, काठमाडौंले असार ३२ गते जिप चालक भण्डारी र सफिकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ ।
विश्वस्त सूत्रका अनुसार मिर्जा हत्याकाण्डमा संलग्न पाँचजना हिटमेनहरूमा करन सिंह र जुवेर खान थिए भने हत्याका योजनाकारमा रोहित बर्मा उर्फ सन्देश शर्मा, सञ्जय माड्कर र राजेन्द्र शर्मा उर्फ राज रहेका थिए । उनीहरू सबै छोटा राजन गिरोहका पेशेवर अपराधीहरू हुन् । यसमध्ये रोहित बर्मा सो गिरोहको तेस्रो महत्त्वपूर्ण व्यक्ति भएको बुझिएको छ ।
सो हत्याकाण्डमा रविना अग्रवाल नामकी भारतीय युवतीको पनि मुख्य भूमिका रहेको बताइन्छ । रचना, मिनाक्षाी, रक्षाजस्ता थुप्रै नामबाट आफूलाई चिनाउने रविना मिर्जाको हत्या भएकै दिनदेखि काठमाडौंबाट गायब छिन् । उनी प्रायः स्कुटरमा हिंड्थिन् र तारे होटलहरूमा देखिन्थिन् । धनाढ्य व्यक्तिहरूलाई यौन जालमा फँसाएर ब्ल्याकमेलिङ गर्नु वा पैसा लुट्नु उनको पेसा थियो । प्रहरीका अनुसार रविना बब्लु श्रीवास्तव गिरोहसँग सम्बद्ध थिइन्, जसको मिर्जा हत्याकाण्डमा अहम् भूमिका छ । रविनाजस्तै अन्य चारवटा केटीलाई पनि बब्लुले सोही प्रयोजनका निम्ति काठमाडौंमा सक्रिय गराएको थाहा भएको छ ।
सांसद वेगका हत्याराहरू अरू कोही नभएर उनी स्वयम्ले संरक्षण दिएर राखेका व्यक्तिहरू थिए । उनीहरू त्यसबेला नेपाल छिरे, जब भारतको निजी क्षात्रको सबैभन्दा ठूलो विमान सेवा 'इस्टवेस्ट एयरलाइन्स' का प्रबन्ध निर्देशक तकिउद्दिन वाहिदको सन् १९९५ नोभेम्बरमा मुम्बईमा हत्या भयो । सो एयरलाइन्स दाउद इब्राहिमको लगानीमा सञ्चालित भएकाले आफूले वाहिदलाई मार्न लगाएको रहस्य स्वयम् छोटा राजनले खोलिसकेका छन् । सोही हत्यामा संलग्न रोहित बर्मासहित सञ्जय माड्कर र राजेन्द्र शर्मा लुक्नका निम्ति भनेर ०५३ माघताका नेपाल छिरे । मिर्जाले उनीहरूलाई संरक्षण दिएर राखे । मिर्जासँग उनीहरूको पुरानै चिनजान थियो । यसमध्ये रोहित र राजेन्द्रलाई सांसद वेगले ०४९ सालमै कपिलवस्तुबाट नेपाली नागरिकता दिलाएको तथ्य यहाँ स्मरणीय छ । राजकुमारको नागरिकता प्रहरीले र पासपोर्ट बरामद गरेपछि सो तथ्य खुलेको हो ।
रोहित, सञ्जय र राजेन्द्रलाई मिर्जाले नै चुनदेवीमा घर भाडामा खोजिदिएर राखेका थिए । त्यसपछि उनीहरू शिक्ष्ाण अस्पतालपछाडिको एक घरमा बसे । उनीहरूले पूरै वर्षभरिको पैसा तिरेर घर भाडामा लिने तर छ-छ महिनामै छाडेर हिंड्ने गरिरहेका थिए । मिर्जाको हत्या गर्दाताका रोहित र सञ्जय श्रीमतीसहित नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलको पूर्वपट्ट िदूरसञ्चार संस्थानका अधिकृत यज्ञप्रसाद श्रेष्ठको घरमा भाडा लिएर बस्दै थिए, जहाँबाट उनीहरू भागे । उता राजेन्द्रचाहिँ सतीश गौतमसँग मैतीदेवीमा बसेका थिए, जहाँ प्रहरीले छापा मार्दा एउटा कटुवा बन्दुक पनि फेला पार्यो ।
हत्याराहरूले दूरसञ्चारका खरिदार सतीश गौतमलाई पनि आफूसँग मिलाएका थिए । गौतमले सांसद वेगको टेलिफोन टेपिङ गरेर उनीहरूलाई सघाएको आशंका प्रहरीले गरेको
छ । यसका अतिरिक्त उनीहरूले गौतमका दुईटा पीसीओमध्ये मैतीदेवीस्थित 'द युनिभर्स कम्युनिकेसन' लाई आफ्नो आपराधिक क्रियाकलापका निम्ति प्रयोग गरेका थिए । घरको फोनबाट कुरा गर्न असुरक्षित ठानेर उनीहरूले त्यहाँबाट आफ्ना 'बोस' छोटा राजनसँग सम्पर्क गर्थे । उनीहरूले गर्ने फोनको बिल हरेक दिन १० हजार रुपैयाँभन्दा माथि हुने गथ्र्याे । रमाइलो त के भने, पीसीओमा जाँदाजाँदै सञ्जय माड्कर र सतीशकी बहिनीबीच 'लभ' पर्यो र केही महिनाअघि उनीहरूले विवाह पनि गरे ।
हत्याराहरूले काठमाडौंमा अत्यन्त बिलासी जीवन बिताएका थिए । दसौं हजारसम्म 'टिप्स' दिने ती अनौठा ग्राहकहरूलाई राजधानीका चल्तीका होटल र रेस्टुरेन्टका वेटरहरूले अझै बिर्सेका छैनन् । ती व्यक्तिहरूले ठमेलस्थित गोरखा प्यालेस रेस्टुरेन्टमा सुन्दरी प्रतियोगितामा भाग लिएका केही युवती र फिल्मी हिरोइनहरूलाई च्यापेर हिंड्ने गरेको पनि धेरैले देखेका थिए । भाटभटेनी डिपार्टमेन्टल स्टोरमा त उनीहरू नियमित पुग्थे ।
रोहित, सञ्जय र राजेन्द्रले काठमाडौंमा बसेर एकातर्फ छोटा राजनको गैरकानुनी कारोबार चलाइरहेका थिए भने अर्काेतर्फ राजनकै आदेशानुसार केही महिनाअघिदेखि मिर्जाको हत्याको तयारी पनि गरिरहेका थिए । हत्याको योजना तयार पारेर उनीहरू घटना हुनुभन्दा दुई दिनअघि नै भागे । वास्तवमा उनीहरू 'प्लानर' मात्र थिए, 'हिटमेन' हरूको टोली अर्कै थियो ।
मिर्जाको हत्या तत्कालै गर्ने निर्णयमा पुगेका छोटा राजनले आफ्ना बफादार 'सुटर' जुवेर खानको नेतृत्वमा हिटमेनहरूको टोली पठाएका थिए । सो टोली डीएल ९ सीए १३४३ नम्बरको महेन्द्रा जिप चढेर महेन्द्रनगर नाकाबाट असार १२ गते नेपाल छिरेको थियो । उनीहरू काठमाडौं आएर ठमेलस्थित होटल ट्यांकीमा बसेर रोहितहरूसँग सम्पर्क गरे । त्यसपछि उनीहरूले सानेपामा बस्ने अर्का भारतीय अपराधी करन सिंह उर्फ मक्कालाई भेटे र हत्याको योजनालाई अन्तिम रूप दिए । मक्का पनि मिर्जाकै संरक्षणमा काठमाडौंमा बस्दै आएका थिए । भनिन्छ, केही प्रहरी अधिकृतहरू पनि उनको नजरानामा पालिएका थिए ।
अन्डरवल्र्डको भाषामा भन्दा मिर्जाको 'गेम' -हत्या) मा पाँचजना हिटमेनहरू संलग्न थिए । उनीहरूले मिर्जालाई कपिलवस्तुमै मार्ने योजना बनाएका थिए । सांसद वेग असार ५ गतेदेखि १४ गतेसम्म कपिलवस्तुमा थिए । तर त्यहाँ मौका नमिलेका कारण हत्या भएन । पिछा गर्दै आएका हत्याराहरूले त्यसको भोलिपल्ट अर्थात् असार १५ गते राति ९ः३० बजे काठमाडौंको सिफलमा मिर्जाको हत्या गरे । प्रहरीका अनुसार मिर्जामाथि गोली प्रहार गर्ने व्यक्ति करन सिंह थिए ।
'माफिया’ मिर्जा
मिर्जा दिलसाद वेगले राष्ट्रियस्तरको परिचय पाएको एक दशक पनि भएको छैन । २०४८ सालमा सांसद भएपछि उनको 'धन्दा' जुन स्तरमा अकासियो, त्यही गतिमा उनले चर्चा पाउँदै गए । तर ३० वर्षअघि पहिलोचोटि मुम्बईको जेलमा चिसो हावा खाँदा सायद् उनले त्यसको कल्पना पनि गरेका थिएनन् होला ।
आजभन्दा ४७ वर्षअघि भारतको उत्तर प्रदेश, देवरिया जिल्ला, रुद्रपुर थानाअन्तर्गतको भैसही गाउँमा जन्मिएका मिर्जा सानैमा हिरो हुन मुम्बईतर्फ हान्निएका थिए । हिरो त होइन, पैसा सकिएपछि उनी सानोतिनो अपराधी बने र हाजी मस्तान गिरोहको सम्पर्कमा आए । सोही क्रममा उनी जेल पनि परे । पछि ०३६-३७ सालमा नेपाल छिरेर यहीँको नागरिकता प्राप्त गरी मिर्जाले कृष्णनगरमा स्थायी बसोबास थालेको कुरा कपिलवस्तुका जानकारहरू बताउँछन् ।
कृष्णनगरमा बसेर उनले आफ्नै ढङ्गबाट दुई नम्बरी काम थाले । चरेस र गाँजा तस्करीको बाटो हुँदै चोरीका भारतीय ट्रक, जिप र कारहरू नेपाल भित्र्याउने धन्दा गरे । पञ्चायतकालको अन्त्यसम्ममा त उनी त्यस भेकको ठूलो तस्करमा गनिन थालेका थिए । र, राजनीतिमा पनि थोरबहुत सक्रिय थिए । तत्कालीन मजदुर संगठन गाउँ समितिको सभापति भएर पञ्चायती राजनीतिमा प्रवेश गरेका मिर्जा कृष्णनगर गाउँ पञ्चायतको उपप्रधानपञ्च पदमा पनि उठेका थिए । तर तीन मतले हारे । बहुदल आएपछि सुरुमा उनी नेपाली कांग्रेसमा लागे र जिल्ला कोषाध्यक्षसमेत भए । तर ०४८ सालको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि उनले सद्भावना पार्टीका तर्फबाट चुनाव लडे र जिते पनि । सद्भावनाले उनलाई केन्द्रीय कोषाध्यक्ष बनायो । ०५१ सालको मध्यावधि निर्वाचनमा सद्भावनाले टिकट नदिएपछि राप्रपाले उनलाई आफ्नो उम्मेदवार बनायो । दोस्रोपटक पनि उनी संसद्मा पुगे, जुन अद्यापि कायम थियो । यही अवधिमा उनी देउवा सरकार र थापा सरकारमा दुईपटक राज्यमन्त्री हुनुका साथै राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भए । पार्टी वा सरकार जे फेरेर भए पनि उनी मन्त्री भइरहन चाहन्थे । सुरक्ष्ााकै कारण आफू मन्त्री हुनुपरेको जिकिर उनको सदैव रह्यो ।
सांसद मिर्जा दिलसाद वेगले राजनीतिक आवरणभित्र आपराधिक गतिविधि सञ्चालन गरेको आरोप निरन्तर लागिरह्यो । उनले आपराधिक गतिविधि गर्न नेपाल र भारतका पेशेवर अपराधीहरूलाई समेटेर गिरोह नै खडा गरेका थिए । एक समय गोरखपुरको उर्दू बजारमा आधा दर्जन सुन व्यापारीहरूलाई दिउँसो मारेर करोडौंको नगद र गरगहना लुट्ने गिरोहका नाइके इरफान उर्फ गामा र बिहारका नामुद अपराधी मल्खु सिंहलाई पनि उनले आफ्नो गिरोहमा सामेल गरेका थिए । सीमापारिका आफ्ना प्रतिद्वन्द्वीहरू सकुर कसाई र करिमुल्ला खाँको बढनी बजारमा हत्या गरेपछि त त्यस क्ष्ाेत्रमा मिर्जाको एकछत्र राज भयो ।
कट्टरपन्थी हिन्दुहरूले सन् १९९२ मा भारतको अयोध्यास्थित बाबरी मस्जिद ध्वस्त पारेपछि मुम्बईका माफिया दाउद इब्राहिम र मिर्जाबीच गाढा सम्बन्ध स्थापित भयो । त्यसबेलासम्ममा मिर्जा सांसद भइसकेका थिए र नेपालमा उनको पहुँच बढ्दो थियो । त्यही भएर उनलाई दाउद र पाकिस्तानी गुप्तचर संस्था आईएसआईले आफ्नो पकडमा ल्याएको दाबी भारतीय पक्ष्ाको छ ।
आईएसआईको सम्पर्कमा आएपछि मिर्जाले तस्करीका अलावा भारतविरुद्ध 'विध्वंसक जेहाद' छेडेको आरोप लगाइन्छ । जस्तो कि, सन् १९९३ जनवरी २६ मा गोरखपुरस्थित मेनका थिएटरमा भएको बम विस्फोटमा मिर्जाको हात रहेको आरोप लाग्यो । उनले दाउदसँग मिलेर ठूलो परिमाणमा हातहतियार र विस्फोटक पदार्थहरू नेपालको बाटोबाट भारत भित्र्याउने गरेको समाचार भारतीय अखबारहरूले निरन्तर लेखे । त्यसोे त एकपटक स्टेनगन लिएर भारत जान लागेका मिर्जाका भतिजा अफजल नेपालगन्जमा समातिएका थिए ।
भारतको केन्द्रीय अन्वेषण ब्युरो -सीबीआई) को दाबीअनुसार भारत भित्रिन लागेको आरडीएक्स
-विस्फोटक पदार्थ) समात्ने भारतीय कस्टम कलेक्टर एलडी अरोडाको हत्या दाउद-मिर्जा गठबन्धनबाटै भएको थियो । २४ मार्च १९९३ मा इलाहाबादमा अरोडामाथि गोली हान्ने व्यक्ति मिर्जाका दाहिने हात गामा थिए । र, सो हत्याको योजना पूर्वप्रहरी महानिरीक्ष्ाक हेमबहादुर सिंहको काठमाडौं, महाराजगन्ज चक्रपथस्थित घरमा सांसद मिर्जासहित दाउदका मतियारहरू बब्लु श्रीवास्तव, मनजित सिंह र केके सैनीले बनाएको कुरा सीबीआईको प्रतिवेदनमा उल्लेख थियो । सो घर मिर्जाले सन् १९९२ देखि प्रतिमहिना १८ हजारका दरले भाडामा लिएका थिए र भारतीय अपराधीहरूलाई लुकाउने थलो बनाएका थिए ।
स्मरण रहोस्, भारतमा अपराध गरेर आएका व्यक्तिहरूलाई मिर्जाले नेपालमा आश्रय दिने र सम्भव भएमा नेपाली नागरिकता र पासपोर्ट दिलाउने काम पनि गर्थे । थाहा भएअनुसार,
उनले सबैभन्दा सुरुमा बब्लु श्रीवास्तव उर्फ ओमप्रकाश श्रीवास्तवलाई ०४९ सालमा कपिलवस्तुबाट अरूण अग्रवालको नाममा नेपाली नागरिकता दिलाएका थिए । कस्टम कलेक्टर अरोडाको हत्यापछि बल्लु नेपालमै लुकेर बसे । उनलाई समात्न भने ०५० सालमा काठमाडौं आएको भारतीय प्रहरीको हतियारधारी दस्ताले नयाँ बानेश्वरमा छापा मार्दा ठूलो हंगामा भएको थियो । पछि नेपाल प्रहरीले १९९४ अक्टोबरमा त्रिपुरेश्वरस्थित होटल अर्किडमा बब्लुलाई पक्रियो तर सांसद मिर्जाले जमानत बसेर उनलाई छुटाए । त्यसको केही महिनापछि भारतले इन्टरपोलको मदतबाट उनलाई सिंगापुरको चाँगी विमानस्थलमा गिरफ्तार गर्यो ।
केही महिनाअघि छोटा राजन गिरोहले दुबईको सडकमा गोली हानेर मारेको सुनील सावन्त उर्फ सावत्या पनि सुरुमा नेपालमै बसेका थिए । दाउद गिरोहका सुनीललाई दुई वर्षअघि मिर्जाले संरक्षण दिएर नेपालमा राखेका थिए । यहाँ उनी अरूणको नामबाट चिनिन्थे ।
मिर्जा राष्ट्रिय राजनीतिमा आएको सात वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको 'माफिया' मा परिणत भएको भारतीय पक्षको दाबी थियो । हत्या हुनुभन्दा एक महिनाअघि भारत सरकारले नेपालसमक्ष उनलाई सुपुर्दगी गर्नुपर्ने माग इन्टरपोलमार्फत् राखेको प्रहरी सूत्रको भनाइ छ । भारतको उत्तर प्रदेश सरकारले मिर्जाविरुद्ध ६ वटा फौजदारी मुद्दाको कारबाही अघि बढाएर सुपुर्दगीको प्रयास थालेको थियो । मिर्जाले जेठ १८ गते काठमाडौंमा एक पत्रकार सम्मेलन गरी भारतीय आरोपको खण्डन गरेका थिए ।
हत्या किन ?
पाँच वर्षअघि दाउद गिरोहबाट फुटेको छोटा राजन समूह अहिले मुम्बई अन्डरवल्र्डमा दाउदको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी गिरोह भएको छ । मुम्बईकै अरूण गवली समूह र उत्तर प्रदेशमा सक्रिय बब्लु श्रीवास्तव गुट पनि छोटा राजनसँग मिलेर दाउदविरुद्ध क्रियाशील छन् । उनीहरू र दाउद गिरोहबीच भिडन्त भइरहँदा पनि यता नेपालका माफिया मिर्जाले चाहिँ सबैसँग नजिककै सम्बन्ध राख्न सफल थिए ।
मिर्जाको एउटा सदाबहार शैली के थियो भने, उनी आफ्नो फाइदाअनुसार जुनसुकै गिरोहका लागि पनि काम गर्थे । तर केही समयता उनी दाउदसँग बढी निकट भएको यथार्थ अपराध जगतबाट छिपेको थिएन । दाउद र मिर्जा दुवैजना मुस्लिम समुदायका भएका कारण उनीहरूबीच निकटता बढ्न अझ सजिलो भयो । केही महिनाअघि मिर्जा हज गरेर र्फकंदा पनि दाउदको कराँचीस्थित निवासमा अतिथि भएर बसेका थिए ।
मिर्जाले सुन, हतियार र लागूपदार्थको तस्करीजस्ता अवैध कारोबारहरू गर्ने गरेको प्रहरीको भनाइ छ । यसबाहेक उनले अन्तर्राष्ट्रिय गिरोहहरूका लागि नेपालस्थित 'एजेन्ट' को भूमिका पनि निर्वाह गर्थे । ती गिरोहले विभिन्न भारतीय सहरहरूबाट उठ्ने रकम मिर्जालाई माध्यम बनाएर लिन्थे र मिर्जाले त्यसबापत निश्चित कमिसन पाउथे । सोही क्रममा भारतको एक अपहरण काण्डबाट आएको तीन करोड रुपैयाँ उनले छोटा राजनलाई बुझाउनुपर्ने थियो तर आफंैले लिइदिए । त्यसपश्चात् मिर्जा र राजनबीच खटपट चरमचुलीमा पुग्यो । सोही घटनापश्चात् राजनले मिर्जाको हत्या गर्ने योजना बनाएको बताइन्छ ।
वास्तवमा सांसदबाट मन्त्री भएपछि मिर्जाले माफिया डनहरूलाई नजरअन्दाज गर्न थालेका थिए । जबकि डनहरूचाहिँ उनलाई आफ्नो मामुली एजेन्टभन्दा माथिल्लो दर्जामा राख्दैनथे । मिर्जाले दाउदसँग लागेर बारम्बार 'धोका' दिन थालेपछि बब्लु श्रीवास्तव पनि उनको ज्यानको दुस्मन भएका थिए । गतसाल बब्लु गिरोहका 'हिटमेन' विक्रम सिंह वाही उर्फ बिक्कीलाई मिर्जाले मारेपछि उनीहरूमाझको शत्रुता एक्कासि अकासिएको थियो । भारतका 'क्यासेट किङ' गुलसनकुमारका हत्यारा बिक्कीले दाउद इब्राहिमका लागि काम गरे पनि उनी भित्रभित्रै बब्लुसँग मिलिसकेका थिए । सो कुरा थाहा पाउनेबित्तिकै दाउदले उनलाई सुन बोक्ने प्रलोभनमा दुबईबाट नेपाल पठाए र मिर्जामार्फत् कुशलतापूर्वक उनको हत्या गराएको जानकारहरूको भनाइ छ । सूत्रका अनुसार कृष्णनगरस्थित मिर्जाकै घरमा मारिएका बिक्कीको लासका टुक्राहरू कृष्णनगर र सीमापारि बढ्नीमा फेला परेका थिए । यी सबै कारणबाट छोटा राजन र बब्लु गिरोहका लागि मिर्जा नम्बर एक शत्रु हुन पुगे ।
मिर्जाको हत्यापछि दाउद गिरोहले प्रतिशोधको कारबाही थालिसकेको छ, जसले गर्दा भारतीय सहरहरूमा फेरि 'ग्याङ वार' को मौसम छाएको छ । मिर्जा मारिएकै दिन मुम्बईमा दाउद गिरोहका मोहम्मद जिन्दान छोटा राजनका 'हिटमेन' हरूद्वारा मारिएका थिए । त्यसको भोलिपल्टको भिडन्तमा सलिम कुर्लासहित दुईजना मुम्बईमा र तीनजना बैंग्लोरमा मारिए भने असार १८ गते दाउदका लागि काम गर्ने दक्षिण मुम्बईको दिलवर होटलका मालिक सारस इरानीको हत्या गवली गिरोहका दिलीप कुलकर्णले गरे । त्यसको भोलिपल्ट मुम्बईमै आपसी भिडन्तबाट दुईजना ठहरै भए । अझै पनि ग्याङ वार रोकिएको छैन ।
फेरि 'मिर्जा’ हरू मारिन सक्छन्
माफियाहरूका निम्ति सुखद मरण दुर्लभ हुन्छ । मिर्जा पनि यसका अपवाद भएनन् । तर खतरा त के छ भने माफिया गतिविधिबाट अपेक्षाकृत शान्त रहेको नेपालमा पनि ग्याङ वारका रूपहरू देखा पर्न थालेका छन् । यस्तो प्रवृत्तिले प्रोत्साहन पाउनुमा सरकारी रवैया बढी जिम्मेवार छ ।
एक उच्च प्रहरी अधिकृत भन्छन्, 'पोहोर साल बिक्कीको हत्या मिर्जाले नै गरेको कुरा हाम्रो अनुसन्धानबाट प्रमाणित भएको थियो । तर उसलाई कारबाही गर्न सरकारले नै मानेन । मिर्जाका पछाडि राखिएका गुप्तचरहरू पनि हटाउन लगाइयो । एउटा अपराधीलाई खुला छाड्दाको परिणाम अहिले देखियो ।'
राप्रपाका दलबदलु सांसद मिर्जा दिलसाद वेग हरेकचोटिको दलीय समीकरणमा सत्ताको साँचो बनिदिन्थे । त्यही भएर हरेक पार्टी सांसदको जोड-घटाउमा मिर्जाको महत्त्वलाई ख्याल गर्दै उनको अपराधकर्मलाई बिर्सिदिन्थे, जसले गर्दा देशमा भित्रिरहेको मुम्बई-माफियाको जालो मजबुत हुँदै गयो । यस अर्थमा मिर्जाको हत्या नेपाली राजनीतिहरूका निम्ति ठूलो पाठ हो ।
मिर्जाको हत्याको षड्यन्त्रबारे प्रहरीले थुप्रै जानकारी बटुले पनि वास्तविक हत्याराहरू यो पंक्ति लेख्दासम्म पक्राउ परेका छैनन् । प्रहरीको अनुसन्धान टोलीलाई हत्यासँग सम्बन्धित प्राथमिक जानकारी बटुल्न नै चार दिन लागेको थियो । त्यसबेला सम्ममा अपराधीहरू भागिसकेका थिए । विदेशी माफियाहरूको गतिविधिमाथि निगरानी राख्ने जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको अपराध अनुसन्धान विभागसँग त्यससम्बन्धी पर्याप्त पूर्वजानकारी नभएका कारण ढिलाइ भएको थियो । माफिया डन छोटा राजनले मिर्जाको हत्याको जिम्मेवारी लिएपछि सरकारले त्यसलाई नै अन्तिम सत्य मानेर मौन बस्ने हो कि उच्चस्तरीय छानबिन आयोग बनाएर षड्यन्त्रको जरासम्म पुग्नुपर्ने हो, सरकार हाँक्नेहरू हालसम्म दोधारमै देखिन्छन् ।
मिर्जाको हत्या कुनै गुप्तचर संस्थाले गराएको भए पनि वा दाउद र राजन गिरोहबीचको भिडन्तको परिणाममात्र भए पनि अब यस्ता खाले घटना दोहोरिनु पहिलेजस्तो प्रतिकूलता रहेन । चाहे भारतसमर्थक हुन् वा पाकिस्तान, कुनै पनि माफिया गिरोहलाई चलखेल गर्ने छुट दिइनुहुन्न । अहिले नेपाली भूमिमार्फत् भइरहेको सुन तस्करीका कारण काठमाडौंमा विदेशी माफियाहरू शक्तिशाली भएका छन् । सुन तस्करका रूपमा परिचित छोटा राजनको मोहोराका रूपमा उपयोग भएका छन् । माफियाहरूको यस्तो अदृश्य गतिविधि नियन्त्रण नगर्ने हो भने भविष्यमा यहाँ अरू मिर्जाहरू मारिंदा अस्वाभाविक हुने छैन ।
'मैले' मिर्जालाई मारें’
सांसद मिर्जा दिलसाद वेगको सनसनीपूर्ण हत्याको जिम्मेवारी लिएर मुम्बई-माफियाका एक डन छोटा राजन उर्फ राजेन्द्र सदाशिव निखल्जेले अर्का सनसनी मच्चाएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा बसेर अवैध कारोबारको अन्तर्राष्ट्रिय नेटवर्क चलाउने राजनसँग भारतीय साप्ताहिक इन्डिया टुडे -जुलाई २०, १९९८) ले टेलिफोन-अन्तर्वार्ता लिएको थियो । प्रस्तुत छ, त्यसको मुख्य अंशहरूः
मिर्जा वेगलाई तिमीले मारेको आशंका गरिन्छ नि ?
हो, मैले उसको हत्या गर्ने आदेश दिएको थिएँ । जुन मान्छेहरूले 'टि्रगर' दबाए, तिनीहरू मेरा 'हिटमेन' हरू हुन् ।
किन तिमीले उसको हत्या गरायौ ?
उसले आईएसआईका लागि काम गरिरहेको थियो । ऊ हात-हतियार, आरडीएक्सलगायतका विस्फोटक पदार्थ -भारतमा) भित्र्याउने मुख्य व्यक्ति हो । दाउद इब्राहिमसँग पनि उसको नजिकको सम्पर्क थियो । दाउदसँग लाग्ने हरेक व्यक्ति मेरो शत्रु हो । अब वेग नरहेपछि नेपालबाट -आपराधिक गतिविधि) सञ्चालन गर्न दाउदलाई सजिलो हुने छैन ।
मार्ने पर्ने तत्कालको कारणचाहिँ के थियो ?
दाउदका सबै सहयोगीहरू वेगका अतिथि हुन्थे । उसले तिनीहरूलाई आश्रय दिने गर्दथ्यो, मनोरञ्जन गराउँथ्यो र नेपाली पासपोर्ट दिलाउनसमेत मदत गथ्र्याे । उसले आईएसआईमार्फत् भारतमा आतंक फैलाइरहेको थियो । कोयम्बटुर बम विस्फोटमा पनि उसको हात थियो, जसमा एलके आडवाणी -भारतीय गृहमन्त्री) लाई निशाना बनाइएको थियो ।
तिमी आफैं पनि त अन्डरवल्र्डमा संलग्न छौ ?
म भारतविरोधीहरूलाई मात्र मार्छुं । सलिम कुर्ला र मोहम्मद जिन्द्रानको हत्या पनि मेरै आदेशमा भएको थियो । तिनीहरू किन मारिएका थिए भने तिनीहरू मुम्बई विस्फोटका अभियुक्त थिए । म सबै अभियुक्तहरूलाई एक-एक गरी मार्नेछु ।
के भारतीय अधिकृतहरूले वेगको हत्या गर्न तिम्रो सहयोग मागेका थिए ?
अहँ, तर यदि मलाई प्रस्ताव राखेको भए, म सहयोग गर्न हिच्किचाउने थिइनँ ।
११ वर्षपछि फर्केर हेर्दा
माथिको रिपोर्टिङ करिब ११ वर्षअघि छापिएको थियो । त्यसयता उक्त घटनासँग सम्बन्धित पात्र र प्रवृत्तिमा धेरै उतारचढाव आइसकेको छ । तर मिर्जाको हत्याले भारतका दुई माफिया डनहरु दाउद इब्राहिम र छोटा राजनबीच सुरु गराएको टकरावको सिलसिला रोकिएको छैन ।
मिर्जालाई मारेको घटनाको बदला लिन दाउद समूहले बैंककमा लुकेका छोटा राजनमाथि १४ सेप्टेम्बर २००० मा ठूलो हमला गरेको थियो । त्यस आक्रमणमा राजनलाई जोगाउँदा रोहित बर्मा घटनास्थलमै मारिए, जो मिर्जा हत्या गर्ने मिसनमा लामो समय काठमाडौंमा बसेका थिए र नेपाली महिलासँगै घरजम गरेका थिए ।
राजन स्वयं पनि त्यो हमलामा सख्त घाइते भएर थाइल्यान्डकै एक अस्पतालमा भर्ना भए । उनलाई सुपुर्दगी गराउन गरिएको प्रयत्न असफल भएपछि भारतीय एजेन्सीहरुले राजनलाई अस्पतालबाटै सुटुक्क बेपत्ता पारेर भारत पुर्याएका थिए । मिर्जामाथि गोली हान्ने हिटमेन करण सिंहमाथि पनि दाउद समूहले कोलकातामा गोली हान्यो । उनी बचे र सरकारी हिरासतमा राखिए । उनलाई नेपाल सुपुर्दगी गराउन काठमाडौंबाट दुई प्रहरी अधिकृत त्यहाँ पुगेका थिए तर सम्बन्धित अधिकारीहरुले कुराकानी गर्न पनि दिएनन् ।
उच्च स्रोतका अनुसार मिर्जा हत्याकाण्डको अनुसन्धानका बेला नेपाल प्रहरीलाई दाउद इब्राहिम स्वयंले विभिन्न महत्त्वपूर्ण सूचनाहरु दिएर सहयोग गरेका थिए । उनले दुबईबाट टेलिफोनमार्फत दिएको जानकारीका आधारमा प्रहरीले आपmनै मुख्यालयको उत्तरपट्टकिो एक घरमा छापा मार्ने, सन्दिग्ध व्यक्तिहरु समात्नेलगायतका काम गरेको थियो । यसबीच दुबईबाट पाकिस्तानको कराँची सरेको भनिएका दाउदलाई काठमाडौंको पछिल्लो हत्याकाण्डबारे चाहिं कुनै चासो वा सरोकार छ/छैन, जानकारहरुले समेत यकिनसाथ बताउन सकेका छैनन् ।
कान्तिपुर दैनिकबाट साभार
