Music
ब्रुनाईमा राजेश पायल
अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गर्नुभएका स्व. विजय राईको सम्मानार्थ शनिबार ब्रुनाईको सेरियामा आयोजना भएको ‘विजय साँझ विथ राजेशपायल राई’ भव्य रुपमा सम्पन्न भएको छ । आफ्नो लामो सांगीतिक क्यारीयरमा पहिलोपल्ट ब्रुनाई आएका गायक पायलले बीर गोरखाली योद्धाहरुप्रति कार्यक्रम समर्पित गर्दै इराक एण्ड अफगान सच ए सरो गाउँदै कार्यक्रमको सुरुवात गरेका थिए ।
यस अघि गोर्खा मेजर डम्बर शाही र बटालियन सेकेण्ड इन कमाण्ड मेजर मुर्रेबाट पानसमा बत्ति बाली स्व. विजय राई सहित अफगानिस्तान युद्धमा वीरगति पाउनु हुने योद्धाहरुको तस्वीरमा खादा र फुलमाला लगाई श्रद्धाञ्जली अर्पण गर्दै २ मिनेट मौन धारण गरिएको थियो ।
अचम्म भो, सागर सरी, डुल्न मन लाग्छ, खास त केही छैन, बल्ल भेट भो, विचार चोगे, नौजाले, दिक्तेल बजार, मोहनी लाग्ला है, राई इज किंग, दर्शन नमस्ते लगायत २० वटा गीतहरु दुई चरणमा गायक पायलले प्रस्तुत गरेका थिए । थ्रीडी इफेक्टको लाइट तथा साउण्ड सिस्टमले सुसज्जित कार्यक्रम एकदमै सफल भएको आयोजकद्वय जितेन्द्र चेम्जोङ र मिलन चाम्सले बताए । कार्यक्रम स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने पल्टने लेखक आनन्द रोनोहोंछा राईको मुक्तक संग्रह ‘मनोवाद’ को विमोचन समेत गरिएको थियो भने स्व. विजय राईको व्यक्तित्व झल्काउने वृत्तचित्र समेत देखाइएको थियो । कार्यक्रममा उठेको रकमबाट स्व. विजय राईको सम्मानमा विभिन्न सामाजिक कार्यहरु गरिने कार्यक्रममा आयोजकद्वयले घोषणा गरेका थिए ।
कार्यक्रमको भव्य सफलतापछि हौसिएका राई इज किंग आफ्नो नयाँ एल्वम जदौं–३ र दर्शन नमस्ते–२ को दुईवटा गीतको भिडियो ब्रुनाइमा मिलन चाम्सको निर्देशनमा छायांकन गर्दैछन् । यसै हप्ता भिडियो छायांकन सकाएर उनी सिंगापुरमा समेत अर्काे कन्सर्ट गरेर अर्काे साता नेपाल फर्कर्दैछन् ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








